महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो नौ महिनाको अवधिमा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ११० जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ। मन्त्रालयको पहलमा हालसम्म यसरी उद्धार गरिएका महिलाको सङ्ख्या ८१० पुगेको छ।
मन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न नीतिगत तथा संरचनागत सुधारमा जोड दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले नौ महिनाको अवधिमा २९ पुरुष र ४६ महिला गरी ७५ ज्येष्ठ नागरिकलाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको छ।
यस अवधिमा मन्त्रालयले भारतको काश्मिरमा बन्धक बनाइएका ३२ जना नेपाली पुरुषलाई उद्धार र स्वदेश फिर्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासलाई नपुग रकम रु दुई लाख ५१ हजार ४३१ पठाएको छ।
मानव बेचिबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को संशोधन मस्यौदाको प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता भएको, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०८२ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको तथा मानव बेचबिखनविरुद्धको अध्ययन अनुसन्धान गर्ने विषयमा समिति गठन भई कार्य प्रक्रियामा रहेको मन्त्रालयका प्रवक्ता चक्तबहादुर बुढाले जानकारी दिए।
मन्त्रालयले मापदण्ड पूरा गरेका ४२ वटा बाल गृहलाई सञ्चालन अनुमति प्रदान गरिएको, १७ बालगृहको अनुगमन गरी पृष्ठपोषण गरिएको, सात बालगृह सञ्चालक र कर्मचारीलाई बालगृह सञ्चालनसम्बन्धी कानुन र मापदण्डका बारेमा अभिमुखीकरण गरिएको र ३१ बालबालिकालाई बालगृहबाट परिवारमा पुनर्मिलन गरिएको जनाएको छ।
देशभर हराएका तीन हजार ६९८ बालबालिकाको खोजतलास गरी सोमध्ये फेला परेका तीन हजार १०७ जनालाई परिवारमा पुनर्मिलन गरिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापनको सवालमा मन्त्रालयले बेवारिस अवस्थामा फेला परेका २२२ जना बालबालिका मध्ये १३४ जना बालबालिकाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलन गरिएकामा ६७ जना बालबालिकालाई पालनपोषण तथा संरक्षणका लागि बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रको प्रबन्ध गरी पुनःस्थापना गरिएको जनाइएको छ।
राष्ट्रिय गैरसरकारी संस्थाका ५८३ वटा परियोजनामा रु छ अर्ब ९७ करोड ८७ लाखको कार्यक्रम स्वीकृत गर्नुका साथै सिडमा नेपालको हालसम्मको प्रगति पेस गरिएको मन्त्रालयले जनाएको छ।