२२ बैशाख २०८२ , सोमबार

बाँकेको कोहलपुरमा ९ वर्षीय बालकको निर्मम हत्या, आमा र सौतेनी बाबु पक्राउ

News
१७ बैशाख, काठमाण्डौँ ।

बाँकेको कोहलपुरमा ९ वर्षीय बालकको निर्मम हत्या भएको छ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार बालकको हत्यामा संलग्न रहेको आशंकामा आमा र सौतेनी बाबुलाई पक्राउ गरिएको छ। वैजनाथ गाउँपालिका-४, नौलापुरमा वैशाख १५ गते स्थानीयले पानी नभएको कच्ची कुलोमा माटोले पुरिएको अवस्थामा बालकको शव फेला पारेपछि घटना बाहिर आएको हो। मृतक बालक कोहलपुर नगरपालिका वडा नं. ११ निवासी यसोदा बुढाका ९ वर्षीय छोरा कुशल बुढा रहेको पहिचान भएको छ।

प्रहरी अनुसन्धानका क्रममा बालककी आमा यसोदा बुढा र सौतेनी बाबु निरकनाथ योगीले मिलेर हत्या गरेको तथ्य खुलेको छ। प्रहरीका अनुसार उनीहरुले बालकको हत्या गरी शव लुकाउनका लागि माटोमा पुरेका थिए। घटनालाई ढाकछोप गर्न यसोदाले वैशाख ९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा छोरा हराएको भन्दै निवेदन दिएकी थिइन्। तर, परिवारका सदस्यहरुसँग सोधपुछ गर्दा यसोदाले बालक हराएको बारेमा सासु-ससुरालाई खबर नगरेको र खोजीमा समेत चासो नदेखाएको पाइएको थियो।

यसोदा बुढा र निरकनाथ योगीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ। प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका व्यक्तिहरुमा यसोदा बुढा, ३१ वर्ष, जो कैलाली बर्दगोरिया गा.पा. वडा नं. २ माइती भई बाँके जानकी गा.पा. वडा नं. ३ विवाह गरेकी र हाल कोहलपुर नगरपालिका वडा नं. ११ कृषिचोकमा डेरा गरी बस्छिन्, र निरकनाथ योगी, ३३ वर्ष, जो दैलेख दुल्लु नगरपालिका वडा नं. ११ घर भई हाल बाँके कोहलपुर नगरपालिका वडा नं. ११ कृषिचोकमा डेरा गरी बस्छन् रहेका छन्।