१३ असार २०८३ , शनिबार

रास्वपाको प्रथम महाधिवेशन सम्पन्न, रवि लामिछाने सभापतिमा, नयाँ केन्द्रीय नेतृत्व चयन

News
१३ असार, काठमाण्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक सातासम्म चितवनमा सञ्चालन भएको प्रथम महाधिवेशन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। महाधिवेशनले सभापतिसहित छ जना पदाधिकारी तथा ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको हो।

महाधिवेशनबाट सभापतिमा रवि लामिछाने यसअघि नै सर्वसम्मत चयन भइसके पनि पार्टीको निर्वाचन आयोगले शुक्रबार आयोजित घोषणा समारोहमार्फत उहाँको निर्वाचनलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ। सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेको थियो।

निर्वाचनपछि सभापति लामिछानेले लोकतन्त्रका आधारभूत मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त तथा राज्यका संस्थाप्रति सम्मान कायम राख्नुपर्नेमा जोड दिनुभयो। मतको बहुमतको आडमा विगतका शासकहरूले गरेका कमजोरी दोहोरिन नहुने उल्लेख गर्दै उहाँले लोकतान्त्रिक अभ्यास सही दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उपाध्यक्ष (खुला) पदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सर्वसम्मत निर्वाचित हुनुभयो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उम्मेदवारी नदिई समर्थन जनाएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। महिलातर्फ उपाध्यक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ७८९ मतसहित विजयी हुनुभयो। उहाँकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गर्नुभयो।

महामन्त्री पदमा विपिनकुमार आचार्य ६२१ मतसहित निर्वाचित हुनुभयो। उहाँले मनीष झासहित अन्य प्रतिस्पर्धीलाई पछि पार्दै विजय हासिल गर्नुभएको हो। सहमहामन्त्री (खुला) तर्फ अशिम शाह र हरि ढकाल निर्वाचित भए भने महिला सहमहामन्त्रीमा निशा डाँगी ७०१ मतसहित विजयी हुनुभयो।

पदाधिकारी निर्वाचनको दोस्रो चरणमा एक हजार ३६१ मत खसेको थियो। यो संख्या केन्द्रीय सदस्य निर्वाचनमा खसेको मतभन्दा उल्लेखनीय रूपमा कम रहेको निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशनबाट सरकारमा सहभागी अधिकांश मन्त्रीहरू पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुनमन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव भने केन्द्रीय सदस्य पदमा पराजित हुनुभयो।

महाधिवेशनको अर्को विशेषता केन्द्रीय समितिमा महिलाको उल्लेखनीय प्रतिनिधित्व रह्यो। निर्वाचित ९९ केन्द्रीय सदस्यमध्ये ४९ जना महिला निर्वाचित भएका छन्, जसले करिब ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ।

केन्द्रीय समितिमा सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना प्रतिनिधि निर्वाचित भएका छन् भने खुला प्रतिस्पर्धाबाट ३५ जना चयन भएका छन्। बाँकी सदस्यहरू महिला, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, थारूलगायत समावेशी समूहबाट निर्वाचित भएका छन्। २०७८ सालको जनगणनाका आधारमा तयार गरिएको समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व सुनिश्चित गरिएको पार्टीले जनाएको छ।

रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा कुल ३८४ जनाले उम्मेदवारी दिएका थिए। पार्टी विधानअनुसार निर्वाचित ९९ केन्द्रीय सदस्यसँगै सभापतिलाई थप १२ जना पदाधिकारीसहित ५० जना सदस्य मनोनयन गर्ने अधिकार रहने व्यवस्था छ।