४ जेष्ठ २०८३ , सोमबार

नेपाल र स्कटल्याण्ड आज भिड्दै, लिग–२ मा महत्त्वपूर्ण खेल

News
४ जेष्ठ, काठमाण्डौँ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच महत्वपूर्ण खेल हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन् । स्कटल्याण्डले दुवै खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले पराजित गरेको स्कटल्याण्डले दोस्रो खेलमा अमेरिकालाई पनि सोही नियमअनुसार दुई रनले नै हराएको थियो ।

तेस्रो खेलमा भने नेपालले अमेरिकालाई शानदार प्रदर्शन गर्दै नौ विकेटले पराजित गरेको थियो । सो जितले नेपाललाई केही राहत दिएको भए पनि आजको खेल अत्यन्तै निर्णायक मानिएको छ ।

नेपाल अहिले लिग–२ अंक तालिकामा सातौँ स्थानमा रहेको छ । २६ खेलमा नौ जित, १५ हार र दुई बराबरीसहित नेपालसँग २० अंक छ । ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले बाँकी सबै १० खेल जित्नुपर्ने दबाब छ । साथै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।

यता स्कटल्याण्ड ३० खेलमा ३८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । १६ जित, ८ हार र ६ बराबरीको प्रदर्शनसहित स्कटल्याण्ड लिग–२ मा बलियो स्थितिमा देखिएको छ ।

नेपालका लागि आजको खेल ग्लोबल क्वालिफायर दौडमा बाँचिरहने अवसर मात्र होइन, आत्मविश्वास पुनः निर्माण गर्ने महत्त्वपूर्ण मोड पनि हो । जीतले नेपालको सम्भावना जीवित राख्नेछ भने हारले यात्रा झन् कठिन बनाउनेछ ।