सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीको पदबहालीपछि एक महिनामा भएका प्रमुख कार्यप्रगतिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधार, सेवा प्रवाहमा सुधार तथा प्रविधि विस्तारका कार्यहरू अघि बढाएको जनाएको छ।

यस अवधिमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियामा उल्लेखनीय सुधार गरिएको छ। नयाँ निवेदनको हकमा यातायात व्यवस्था विभागबाट प्राप्त विवरण २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

हालसम्म सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ सम्पन्न भइसकेको छ भने थप १७ लाख थान पुराना लाइसेन्स छपाइ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसैबीच ३० लाख थान हुलाक टिकट छपाइ गरी हुलाक सेवा विभागलाई हस्तान्तरण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सेवा प्रवाहलाई सहज, छरितो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित विभिन्न सुधारका कार्यहरू निरन्तर अघि बढाइने छन्।
