३२ असार २०८३ , बिहीबार

नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

News
३१ असार, काठमाण्डौँ ।

नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

जापानले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले ११.२ ओभरमै १ विकेटको क्षतिमा ९० रन बनाउँदै सहज रूपमा पूरा गरेको थियो। नेपालको जितमा प्रारम्भिक ब्याटर सावित्री धामीले ३२ बलमा अविजित ४१ रनको उत्कृष्ट इनिङ्स खेल्नुभयो। सना प्रवीनले १६ बलमा १८ रन तथा सोनी पाख्रिनले २२ बलमा अविजित १८ रनको योगदान दिनुभयो। जापानका तर्फबाट ममता कश्वानले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिनुभयो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। जापानका कप्तान बियान्का शिनोले ५७ बलमा सर्वाधिक ३८ रन बनाउनुभयो। आयाने साकुराबा र किचो सुजुकीले समान १०–१० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपालका बलरहरूले सुरुदेखि नै अनुशासित बलिङ गर्दै जापानी ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए। कृष्मा गुरुङले ३ ओभरमा केवल ६ रन खर्चेर २ विकेट लिनुभयो। रिया शर्माले ४ ओभरमा २३ रन दिएर २ विकेट लिनुभयो भने सोनी पाख्रिन र अनु कडायतले समान १–१ विकेट हात पार्नुभयो। नेपालको उत्कृष्ट ब्याटिङ र कसिलो बलिङका कारण टोलीले सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो।