२५ जेष्ठ २०८३ , सोमबार

नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन

News
२५ जेष्ठ, काठमाण्डौँ ।

सिङ्गापुरस्थित सिङ्गा ओभल मैदानमा सोमबार सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको छ। नेपाल प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो।

वर्षाले प्रभावित बनेको फाइनल खेलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा भारी वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि डकवर्थ–लुईस–स्टर्न (डिएलएस) प्रणालीका आधारमा नेपाललाई विजेता घोषित गरिएको हो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६५ रन बनाउनुभयो। उहाँले ४० बलमा आठ चौका र तीन छक्काको मद्दतले आक्रामक इनिङ्स खेल्नुभएको थियो। कप्तान रोहितकुमार पौडेलले ३५ रनको योगदान दिनुभयो। हङकङका तर्फबाट आयुश शुक्ला र इशान खानले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८८ रन बनाएको थियो। हङकङका लागि अंशुमन रथले ४५ बलमा छ चौका र छ छक्कासहित सर्वाधिक ८० रन बनाउनुभयो। यस्तै सहिद वासिफले ५५ तथा शिव माथुरले २६ रनको योगदान दिएका थिए।

नेपालका बलर शेर मल्लले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिनुभयो। करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि शेर मल्ल प्लेयर अफ दि म्याच घोषित हुनुभयो।

यस उपाधिसँगै नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा आफ्नो प्रभुत्व कायम गर्दै आगामी प्रतियोगिताका लागि आत्मविश्वास थप बलियो बनाएको छ।