जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै बाँकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा तराई क्षेत्रसहित अन्य प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्ले चट्याङ्ग र वर्षाका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।