नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्याङ्कको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ।
यस संस्करणमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बीमालेख सङ्ख्या, प्रदेशगत रूपमा बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्कलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँचजस्ता विषय समेटिएको छ। यस्तै, बीमकको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी विवरणलगायत बीमा क्षेत्रका समग्र सूचकाङ्क विश्लेषणसहित प्रस्तुत गरिएको छ।
उक्त सामग्रीमा नेपालको बीमा क्षेत्रले गत वर्षभर उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइएको छ। यस्तै बीमा शुल्क सङ्कलन, बीमालेख जारी र दाबी भुक्तानीमा सकारात्मक वृद्धि देखाएको छ। यसले देशको आर्थिक विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण योगदानलाई उजागर गरेको छ।
चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्ममा जीवन बीमा क्षेत्रले १५ दशमलव ५५ प्रतिशतले वृद्धि हासिल गर्दै रु एक खर्ब ४० अर्ब ३५ करोड बीमा शुल्क सङ्कलन गरेको छ। कुल बीमा शुल्क सङ्कलन रु एक खर्ब ७६ अर्ब २२ करोड पुगेको छ, जुन गत वर्षको तुलनामा १४ दशमलव ०३ प्रतिशतले बढी हो।
दाबी भुक्तानीतर्फ जीवन बीमामा दाबी भुक्तानीको सङ्ख्या दुई लाख १८ हजार ९५१ रहेको छ। जसअन्तर्गत रु ४८ अर्ब ९५ करोड भुक्तानी भएको छ। गत आवको वैशाख मसान्तसम्मको तुलनामा दाबी भुक्तानी सङ्ख्या र रकममा केही कमी आएको देखिन्छ।
साथै, ५३ हजार ४८१ वटा दाबीअन्तर्गत रु चार अर्ब ४५ करोड भुक्तानी हुन बाँकी छ। निर्जीवन बीमातर्फ गत वैशाख मसान्तसम्म कुल एक लाख १३ हजार ९३७ वटा दाबी भुक्तानी भएको छ। जसअन्तर्गत रु १२ अर्ब ५८ करोड भुक्तानी भएको छ भने रु ३० अर्ब ३३ करोड बराबरको कुल एक लाख पाँच हजार ६२० वटा दाबी सङ्ख्या भुत्तानी हुन बाँकी छ।
गत वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख समर्पण भएका छन्। जसअन्तर्गत रु १२ अर्ब २७ करोड समर्पण रकम छ। त्यसैगरी, १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन्, व्यतित बीमालेखको रकम रु ३६ अर्ब ८६ करोड छ। बीमा शुल्क सङ्कलन, बीमालेख जारी र कर्मचारी सङ्ख्यामा वृद्धिले यस क्षेत्रको विस्तार र जनताको विश्वास बढाएको छ। तर, दाबी भुक्तानीमा रहेको ढिलाइ र केही प्रदेशमा सेवा पुग्न नसक्ने चुनौती अझै पनि रहेको प्राधिकरणको दाबी छ।