विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी मुलुकमा इबोला प्रकोप बढ्दै गएपछि डब्लुएचओले उच्च सतर्कता अपनाउन विश्व समुदायलाई आग्रह गरेको हो ।
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा सङ्क्रमणको शङ्का गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको एएफपीले जनाएको छ ।
कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार हाल फैलिएको ‘बुन्डिबुग्यो’ स्ट्रेनको इबोलाका लागि प्रभावकारी खोप वा औषधि उपलब्ध छैन । रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ । स्वास्थ्य सहायता संस्थाहरूले प्रभावित क्षेत्रमा उपचार टोली र आवश्यक सामग्री पठाउने तयारी गरिरहेका छन् ।
यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको क्षेत्र हो । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ । उपचार केन्द्र र आइसोलेसन अभावका कारण धेरै बिरामीको घरमै मृत्यु भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
डब्लुएचओका महानिर्देशक Tedros Adhanom Ghebreyesus ले सङ्क्रमितको वास्तविक सङ्ख्या र प्रभावित भूभागबारे अझै व्यापक अनिश्चितता रहेको बताउँदै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
डब्लुएचओका अनुसार हालसम्म प्रयोगशालाबाट पुष्टि भएका आठ जना सङ्क्रमित फेला परिसकेका छन् । इटुरी प्रान्तको राजधानी बुनिया, मोङ्गावालु र ¥वाम्पारालगायत क्षेत्रमा थप शङ्कास्पद बिरामी र मृत्युका घटना देखिएका छन् ।
यसबीच इबोला सङ्क्रमण कङ्गो बाहिर पनि फैलिन थालेको छ । छिमेकी देश Uganda मा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । बिहीबार मृत्यु भएका ५९ वर्षीय पुरुषमा इबोला पुष्टि भएको युगान्डाका अधिकारीहरूले जनाएका छन् । मानिसहरूको आवतजावत र व्यापारिक गतिविधिका कारण छिमेकी मुलुकहरू थप जोखिममा परेको बीबीसीले जनाएको छ ।
नेपाल सरकारले पनि विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा हालसम्म इबोला सङ्क्रमण नदेखिएको भए पनि आवश्यक तयारी थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार Tribhuvan International Airport सहित प्रमुख सीमा नाकामा स्वास्थ्य निगरानी थप प्रभावकारी बनाइएको छ । अफ्रिकी मुलुकबाट आउने यात्रुको स्वास्थ्य अवस्थामाथि विशेष निगरानी राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ज्वरो, अत्यधिक कमजोरी, रक्तस्राव वा अन्य शङ्कास्पद लक्षण देखिएका यात्रुलाई तत्काल स्वास्थ्य परीक्षणको दायरामा ल्याउने व्यवस्था गरिएको छ । उहाँले इबोला हावाबाट नभई सङ्क्रमित व्यक्तिको रगत, पसिना, ¥याल वा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले सावधानी अत्यन्त प्रभावकारी हुने बताउनुभयो ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा तत्काल ठूलो जोखिम नरहे पनि विश्वव्यापी आवतजावतका कारण कुनै पनि देश पूर्ण रूपमा सुरक्षित रहन नसक्ने बताउनुभयो । उहाँले प्रारम्भिक पहिचान र निगरानी प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इबोला भाइरस पहिलो पटक सन् १९७६ मा हालको Democratic Republic of the Congo मा पहिचान गरिएको थियो । सङ्क्रमण गम्भीर बन्दै जाँदा आन्तरिक रक्तस्राव, अङ्गहरूले काम गर्न छोड्ने अवस्था तथा बहुअङ्ग विफलता हुन सक्छ ।
यसैबीच पछिल्लो समय विभिन्न मुलुकमा हान्टा भाइरसका घटना पनि देखिन थालेपछि नेपालले त्यसतर्फ पनि सतर्कता बढाएको जनाएको छ । स्वास्थ्य विज्ञहरूले रोग निगरानी प्रणाली सुदृढ बनाउन र सम्भावित जोखिमको समयमै पहिचान गर्न सरकारलाई सुझाव दिएका छन् ।