राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी विद्यार्थीमध्ये ६५.९८ प्रतिशतले उत्तीर्ण ग्रेड प्राप्त गरेका छन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरबाट कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न आवश्यक ग्रेड प्राप्त गरेका छन्।
नतिजाअनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्।
त्यसैगरी २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी ९४ हजार २२२ जना रहेका छन् भने २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ५५ हजार ९ सय ७७ रहेको छ।
२.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी ५ हजार १९० जना रहेका छन् भने १.६० देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या सात रहेको बोर्डले जनाएको छ।
यस वर्ष १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले ‘एनजी’ (Non-Graded) प्राप्त गरेका छन्। एनजी प्राप्त गरेका विद्यार्थीहरूले ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।
बोर्डका अनुसार दुई विषयसम्म एनजी प्राप्त गर्ने विद्यार्थीका लागि तत्काल ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ। दुईभन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले भने आगामी वर्ष नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नतिजा विगतका वर्षको तुलनामा सन्तोषजनक रहेको उल्लेख गर्दै शिक्षाको गुणस्तर सुधार हुँदै गएको दाबी गरेको छ।