प्रहरीले काठमाडौंको तार्केश्वरबाट लागू औषध कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। तार्केश्वर नगरपालिका–५, बोहोराटारमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई कार्तिक १४ गते दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–६ स्थायी घर भई हाल तार्केश्वर बस्दै आएका ४५ वर्षीय केशव वली र रोल्पाको माडी गाउँपालिका–६ घर भई हाल काठमाडौंको मित्रनगरमा बस्ने २४ वर्षीय बसन्त पुन मगरसहित अर्का एक जना रहेका छन्।
प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार, पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।