२१ माघ २०८२ , बुधबार

बझाङमा विद्यालय भवन निर्माणमा भ्रष्टाचार: पाँच जनाविरुद्ध २६ लाखभन्दा बढीको मुद्दा

News
१४ माघ, काठमाण्डौँ ।

बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा वास्तविक रूपमा सम्पन्न भएको कार्यभन्दा बढी देखाई गलत बिल तयार गरी बढी मूल्याङ्कन गराइएको र सोही आधारमा बढी भुक्तानी दिइ–लिइ भ्रष्टाचार गरिएको आरोप लागेको छ।

उक्त मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टविरुद्ध २० लाख १ हजार ७९९ रुपैयाँ, तत्कालीन सब–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार ७७९ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट तथा लेखापाल हर्कबहादुर विष्टविरुद्ध समेत गरी कुल २६ लाख ५४ हजार ६८३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ।