गत भदौ २४ गते भएको 'जेन-जी' आन्दोलनका क्रममा कास्कीमा लुटपाट, तोडफोड र आगजनी जस्ता आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका-५, भैंसेका २५ वर्षीय रोशन सापकोटा र पोखरा महानगरपालिका-१७, घारीकुलाकी ३८ वर्षीया बिमला सापकोटा रहेका छन्।
प्रहरीका अनुसार, उनीहरूले आन्दोलनको क्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, पसल र व्यक्तिगत घरहरूमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नता देखाएका थिए। साथै, उनीहरूले माइक प्रयोग गरी मानिसहरूलाई हिंसात्मक कार्यका लागि उक्साउने र अरूका घर तोडफोड गर्न दुरुत्साहन गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतमा पेश गरी 'आपराधिक उपद्रव' सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी राखेको बताएको छ।