२२ बैशाख २०८२ , सोमबार

भारतको KIIT विश्वविद्यालयमा फेरि नेपाली छात्राको मृत्यु, आत्महत्याको आशंका

News
१९ बैशाख, काठमाण्डौँ ।

भारतको कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT), भुवनेश्वरमा अध्ययनरत अर्की एक नेपाली छात्रा बिहीबार कलेज होस्टेलभित्र मृत फेला परेकी छिन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार, बीटेक प्रथम वर्षमा अध्ययनरत छात्राले होस्टेलको चौथो तलामा रहेको आफ्नो कोठामा आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। बिहीबार साँझ ८ बजेतिर उनको शव फेला परेको थियो।

नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र थापाले जानकारी दिए अनुसार, ती युवती वीरगञ्जकी हुन्। "कोठा भित्रबाट बन्द गरिएको थियो भन्ने कुरा आएको छ। कारण खुल्न बाँकी छ।"

घटना थाहा पाउनेबित्तिकै विश्वविद्यालय प्रशासनले स्थानीय ओडिशा प्रहरीलाई खबर गरेको थियो। प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर स्थानीय प्रशासनमा राखेको छ। साथै, मृतकका अभिभावक भुवनेश्वर नपुगेसम्म पोस्टमार्टम गर्न नदिने जानकारी ओडिशा प्रहरीले नेपाली दूतावासलाई दिएको छ।

यसअघि फेब्रुअरी १६ मा पनि सोही विश्वविद्यालयमा प्रकृति लम्साल नाम गरेकी अर्की एक नेपाली छात्राले आत्महत्या गरेकी थिइन्, जसको अनुसन्धान प्रतिवेदन आउन बाँकी छ। लम्सालको मृत्युको कारण पत्ता लगाउन ओडिशा राज्य सरकारले अनुसन्धान टोली गठन गरेको थियो, तर उनको मृत्युको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

स्थानीय प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय विदेश मन्त्रालय, ओडिशा सरकार र KIIT प्रशासनसँग सम्पर्क गरेका छन्। पोस्टमार्टम सम्पन्न भएपछि र कलेज प्रशासनले थप जानकारी दिएपछि थप विवरण सार्वजनिक गरिने बताइएको छ।

यो दुखद घटना दुई महिनाअघि सोही विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत फेला परेको घटनापछि भएको हो। रुपन्देही जिल्लाकी प्रकृति लम्साल फागुनको मध्यतिर विश्वविद्यालय परिसरमा मृत फेला परेकी थिइन्।

भुवनेश्वर-कटक प्रहरी आयुक्त एस देव दत्त सिंहले घटनाबारे जानकारी दिएका छन्। शव विश्वविद्यालयको महिला होस्टेलमध्ये एकमा फेला परेको बताइएको छ।