प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ। कम्पनीले शुक्रबार बिहान आफ्ना प्रयोगकर्ताहरूलाई सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
वर्ल्ड लिङ्कले जारी गरेको सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार यो कदम चालिएको उल्लेख छ। प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' बमोजिम दर्ता नभएका प्लेटफर्महरू बन्द गर्न निर्देशन दिएको थियो।
यद्यपि, कम्पनीले नेपालमा दर्ता भएका सामाजिक सञ्जालहरू भने निर्बाध रूपमा चल्ने स्पष्ट पारेको छ। सूचना अनुसार, टिकटक, भाइबर लगायतका प्लेटफर्महरू प्रयोगकर्ताले पहिले जस्तै चलाउन सक्नेछन्।
सरकारले 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' जारी गरेसँगै नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नियमनको दायरामा ल्याउने प्रयास गरिरहेको छ। निर्देशिकाअनुसार, नेपालमा सेवा सञ्चालन गर्न चाहने सामाजिक सञ्जालले सूचना प्रविधि विभागमा दर्ता हुनुपर्ने प्रावधान छ। वर्ल्ड लिङ्कको यो कदमसँगै अन्य इन्टरनेट सेवा प्रदायकहरूले पनि यस्तै निर्णय लिनसक्ने अनुमान गरिएको छ।