३ बैशाख २०८३ , बिहीबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नयाँ वर्ष २०८३ को शुभकामना

News
१ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सबैको सुस्वास्थ्य र कल्याणको कामना गर्नुभएको हो।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले प्रसिद्ध संस्कृत श्लोक उद्धृत गर्दै सबैको भलाइको कामना गर्नुभएको छ। उहाँले लेख्नुभएको छ—
‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥’

यस श्लोकको भावार्थ प्रस्तुत गर्दै उहाँले प्रत्येक नागरिकको जीवनमा सुख, स्वास्थ्य र समृद्धि कायम रहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले नयाँ वर्षको सुरुआतसँगै सकारात्मकता, निर्विघ्नता र दुःखबाट मुक्ति प्राप्त होस् भन्ने कामना गर्दै सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

नयाँ वर्षको पहिलो दिन आज विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले पनि सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश दिइरहेका छन्। सोही क्रममा प्रधानमन्त्री शाहले पनि संस्कृत श्लोकमार्फत सबैको कल्याणको कामना गर्नुभएको हो।