२२ बैशाख २०८२ , सोमबार

हेटौंडामा सडक भासिँदा गाडी पुरियो, उद्धारमा कठिनाइ

News
२० बैशाख, काठमाण्डौँ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, गैरीगाउँमा शुक्रबार दिउँसो सडक भासिँदा एउटा गाडी पुरिएको छ। गैरीगाउँको भित्री सडक भासिँदा रोकिराखेको ना ४ च ४८३३ नम्बरको गाडी पूर्ण रूपमा पुरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडक भासिएर गाडी बेपत्ता भएपछि स्थानीय प्रशासन र प्रहरीले उद्धार कार्य सुरु गरेका छन्।

डीएसपी श्यामु अर्यालले भने, “गाडी पुरै माटोमा दबिएको छ र देख्न सकिएको छैन। पानी र माटो निरन्तर झरिरहेकाले गाडी निकाल्न निकै गाह्रो भइरहेको छ।”

घटनास्थल नजिकै रहेको ठूलो माछा पोखरीको पानी भासिएको स्थानमा जम्मा भएकाले उद्धार कार्य थप जटिल बनेको छ। दुईवटा मोटरको प्रयोग गरी पानी पम्प गरेर निकाल्ने प्रयास भइरहेको भए तापनि अहिलेसम्म सफलता मिलेको छैन।

प्रहरीले दिएको जानकारी अनुसार गाडी चालक हरि राईले गाडीमा बसिरहेकै बेला सडक भासिन थालेपछि तत्कालै बाहिर निस्केर ज्यान बचाएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।