डडेल्धुराको भित्री मधेस क्षेत्रमा अवस्थित परशुराम नगरपालिकाको जोगबुढा अस्पताल अब ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भई सञ्चालन हुने भएको छ। अस्पतालको स्तरोन्नति तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र परशुराम नगरपालिकाबिच औपचारिक सम्झौता सम्पन्न भएको हो।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा समावेश योजनाअनुसार जोगबुढा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने उद्देश्यले यो द्विपक्षीय सम्झौता गरिएको हो।
सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रदेश सचिव हेमराज रेग्मी र परशुराम नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ। उक्त कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीको समेत उपस्थिति रहेको थियो।
सम्झौताअनुसार साविकको जोगबुढा अस्पतालसँग सम्बन्धित सम्पूर्ण चल तथा अचल सम्पत्ति, जग्गा, भवन, स्वास्थ्य औजार, उपकरण तथा विद्युतीय प्रणालीहरू नगरपालिकाले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। यससँगै अस्पतालको नाम “सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जोगबुढा प्रादेशिक अस्पताल, परशुराम, डडेल्धुरा” रहनेछ।
अस्पतालमा जनशक्ति व्यवस्थापन प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत संगठन संरचनाबमोजिम गरिनेछ। हाल कार्यरत स्थायी कर्मचारीहरूको पदपूर्ति प्रदेश लोकसेवा आयोगमार्फत नभएसम्म आवश्यकताअनुसार करार सेवामा निरन्तरता दिन सकिने व्यवस्था गरिएको छ।
प्रदेश सरकारबाट पूर्ण रूपमा बजेट व्यवस्थापन नभएसम्मका लागि अस्पतालको नियमित प्रशासनिक खर्च हाललाई अस्पताल व्यवस्थापन समितिकै स्रोतबाट व्यहोर्ने सम्झौतामा उल्लेख छ। यसअघि संघीय सरकारको मन्त्रिपरिषद्ले २०८२ वैशाख ३१ गते अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नतिसहित प्रदेश सरकार मातहत हस्तान्तरण गर्न स्वीकृति प्रदान गरिसकेको थियो।
सोही निर्णय तथा प्रदेश सरकारको १४६ जना कर्मचारीको दरबन्दी तेरिज स्वीकृत भएपछि यो सम्झौता कार्यान्वयनमा आएको हो। अस्पतालको सञ्चालन, व्यवस्थापन तथा रेखदेखका लागि सुदूरपश्चिम प्रदेश अस्पताल व्यवस्थापन समिति गठन आदेशअनुसार नयाँ व्यवस्थापन समिति गठन गरिनेछ।
अस्पताल स्तरोन्नतिसँगै डडेल्धुराको भित्रीमधेस क्षेत्रका नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।