२२ बैशाख २०८२ , सोमबार

झापाको महारानीझोडामा सहकारी खेती र कृषि घरबास: उदाहरणीय ग्रामीण कृषि पर्यटन

News
२२ बैशाख, काठमाण्डौँ ।

झापाको गौरादहमा महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ।

कृषकहरूलाई आर्थिक रूपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने उद्देश्यले सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिगाहा जग्गा समेटेर कृषक सदस्यकै सहभागितामा सामूहिक खेती सुरु गरेको थियो। त्यही सामूहिक खेती अहिले ‘नमुना एकीकृत सहकारी खेती’ को रूपमा कृषि अभ्यासको नमूना बनेको छ।

सहकारी संस्थामा एक हजार ९५६ जना महिला सदस्य आबद्ध छन्। सहकारी खेतीको वार्षिक कारोवार रु दुई करोड ५० लाख रहेको नमुना सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाईँ बताउँछन्। यो वर्ष एक बिघा जग्गाको शेयरवापत सदस्य कृषकले सहकारी खेतीबाट रु ६२ हजार नौ सय पाएको उनले जानकारी दिए। एकलभन्दा सामूहिक खेती गर्दा बढी प्रतिफल पाइने भएकाले सहकारीका सदस्यहरू सहकारी खेतीमा रमाउने गरेको उनको भनाइ छ।

सहकारी खेतीबाट धान, मकै र तोरीको गुणस्तरीय बीउ उत्पादन हुने गरेको छ। यहाँ उत्पादित बीउ झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहासम्म बिक्री भइरहेको छ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने योजनाअन्तर्गत मुलुकका सयवटा रमणीय स्थललाई पर्यटकीय गन्तब्य घोषणा गर्यो। सरकारको सय गन्तब्यमध्ये गौरादहको सहकारी खेतीलाई देशकै एउटा मात्र कृषि पर्यटन क्षेत्र भनेर पहिचान प्राप्त भयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड ६० लाखको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गामा नेपालकै पहिलो ‘कृषि घरबास’ निर्माण भयो।

‘कृषि घरबास’ अन्तर्गत निर्माण भएको सुविधायुक्त पाहुना घरमा ५० जना अट्ने वातानुकूलित कोठाहरू छन्। आठ वटा कोठा र ५० जना अट्ने तालिम हल छ। यहाँ बस्नका लागि प्रति व्यक्ति रु दुई सय शुल्क लिने गरिएको छ। पाहुना घरमा बस्नेलाई सहकारीले आफ्नै खेतीमा उत्पादन गरेका जैविक खाद्यपदार्थ खुवाउने गरिएको छ।

हालैका वर्षहरुमा यहाँ पर्यटकहरुको चहलपहल बढ्न थालेको छ, जसले यस क्षेत्रको कृषि पर्यटनलाई थप टेवा पुर्‍याएको छ।