रामेछाप अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशव श्रेष्ठ बालाजु क्षेत्रमा सुरक्षित फेला परेका छन्। सामाजिक सञ्जालमा मर्मस्पर्शी 'सुसाइड नोट' लेखेर सम्पर्कविहीन भएपछि उनको खोजी भइरहेको थियो।
आफूलाई राजनीतिक र प्रशासनिक शक्तिको दुरुपयोग गरी अन्यायपूर्ण ढंगले सरुवा गरिएको, दुर्व्यवहार गरिएको र आत्महत्या गर्न बाध्य पारिएको उल्लेख गर्दै उनले एक लामो पोस्ट लेखेका थिए। त्यसपछि उनको अवस्था अज्ञात थियो र परिवार तथा सहकर्मीहरूले उनको खोजी गरिरहेका थिए।
उनको पोस्ट सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्र र सामाजिक सञ्जालमा तरंग पैदा भएको थियो। उनले आफूमाथि भएको अन्याय र दुर्व्यवहारको विस्तृत विवरण उल्लेख गरेका थिए।
यसअघिको समाचार अनुसार, डा. श्रेष्ठले आफ्नो फेसबुक पोस्टमा आफूले कठिन संघर्ष गरेर डाक्टर बनेको र बागमती प्रदेशको लोकसेवा पास गरी २५ महिनादेखि सेवा गर्दै आएको बताएका छन्। आफ्नो कार्यकालमा अस्पतालमा सुधार ल्याउन, प्रणाली बसाल्न र कामचोर तथा ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न खोज्दा आफूविरुद्ध षड्यन्त्र सुरु भएको उनको आरोप थियो।