नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि धेरैजसो स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ।
यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातका कारण भएको वर्षा र हिमपातले केही दिन जनजीवन प्रभावित बनेको थियो। सोही चक्रवातपछिको हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा १३ जना पर्यटक फसेका थिए। सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र, मनाङको टोलीले आन्तरिक तथा बाह्य गरी फसेका सबै पर्यटकको सकुशल उद्धार गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रबाट वर्षाको विवरण संकलन गरेको थियो। प्राधिकरणका अनुसार तीमध्ये १८५ केन्द्रले उल्लेख्य वर्षाको विवरण उपलब्ध गराएका थिए, जसमा सबैभन्दा बढी लमजुङको बेंसीशहर केन्द्रमा ७१.१ मिलिमिटर वर्षा मापन भएको थियो। वर्षा मापन गरिएकामध्ये चारवटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको थियो।