सामाजिक सञ्जाल टिकटक प्रयोग गरी प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई आइतबार पक्राउ गरेको हो।
ब्युरोका अनुसार आरोपित बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने सामग्री पोस्ट गर्दै आएकी थिइन्। उनले विभिन्न प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषय उठान गरेर समाजमा नकारात्मक धारणा फैलाउने र चरित्र हत्या गर्ने गरेको ब्युरोको आरोप छ।
सामाजिक सञ्जालमा भ्रामक र द्वेषपूर्ण सामग्रीबारे उजुरी परेपछि ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा बस्नेतको संलग्नता खुलेपछि ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी बस्नेत विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा हिरासतमा राखी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ। रमा बस्नेतको टिकटकम प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल विरुद्ध तथा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेनको पक्षमा बनाएका भिडिओहरू देख्न सकिन्छ।