नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोली ४९.२ ओभरमा २२० रनमा समेटियो।
नेदरल्यान्ड्सका वेस्ली बारासीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ३० रनको योगदान दिए। ओपनर माइकल लेभिटले २७, काइल क्लेइनले २५ र नोह क्रोएसले २२ रन थपे पनि अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर रह्यो।
नेपालका लागि सन्दीप लामिछाने र पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका नन्दन यादवले उत्कृष्ट बलिङ गरे। नन्दनले ९ ओभरमा एक मेडन राख्दै ३९ रन खर्चिएर ३ विकेट लिए। सन्दीप लामिछानेले पनि ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले एक-एक विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो। मध्यक्रमका ब्याटर आरिफ सेखले सर्वाधिक ८४ रन बनाए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले समान ३५ रन जोडे। ओपनर कुशल भुर्तेलले १८ रन बनाए भने बसिर अहमेद र करण केसीले समान ११ रनको योगदान दिए। डेब्युट्यान्ट नन्दन यादव १० रनमा अविजित रहे।
नेदरल्यान्ड्सका पउल भान मिकेरेनले ४ विकेट लिए भने माइकल लेभिटले ३ विकेट लिए। आर्यन दत्तले एक विकेट लिए।
यो जितसँगै नेपालले शृंखलाको सुखद अन्त्य गरेको छ। यसअघि नेपालले स्कटल्यान्डलाई १ विकेटले र नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। स्कटल्यान्डसँगको खेलमा भने नेपाल २ रनले पराजित भएको थियो।
जितसँगै १६ खेलबाट नेपालको १२ अंक भएको छ भने २३ खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ।