उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहको नाममा स्थापना भएका वाटिकाको संरचनाका अवस्था नाजुक हुनु दुःखद् भएको बताएका छन्।
गणेशमान सिंह स्मृति वाटिकाले प्रजातन्त्रका सेनानी एवं वाटिकाका अध्यक्ष स्व माथवरसिंह बस्नेतको ४५औँ दिनको पूण्यतिथिको अवसरमा आज यहाँ आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनले भने, “पञ्चायती व्यवस्था विरुद्ध आफ्नो नेतृत्वमा कम्युनिष्टसमेतलाई साथमा लिएर प्रजातन्त्र प्राप्तिको आन्दोलनको नेतृत्व गर्नु भएका वीर गणेशमानको जीवन जति सङ्घर्षमय थियो, उहाँको नाममा खुलेका पार्कलगायतका विभिन्न संरचना पनि सङ्घर्षमय भएको छ, के यस्ता संरचनाको संरक्षण गर्ने जिम्मेवारी अरुको होइन र ?”
उनले वाटिकाको विभिन्न संरचना निर्माणमा आफूले मात्रै बजेटको व्यवस्थापन गरेको स्मरण गर्दै आगामी बजेटमा पनि सक्दो बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
उपप्रधानमन्त्री सिंहले वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ माथवरसिंह वस्नेतले देशका लागि गरेको राजनीतिक यात्राको चर्चा गर्दै २०१७ सालमा गुमेको प्रजातन्त्र फर्काउने अभियानका योद्धाको रूपमा उहाँ रहनुभएको स्मरण गराए।