राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन्।
राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउने बताए। उनले लोकतन्त्रको लाभ नागरिकसम्म पु¥याउन उनीहरूको सशक्तीकरण आवश्यक भएको र सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने बताए।
राष्ट्रपति पौडेलले सार्वजनिक सूचनामा नागरिकको पहुँचले बेथिति र अनियमितता नियन्त्रण, स्वेच्छाचारिता र दण्डहीनताको अन्त्य, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, सुशासनको प्रत्याभूति, विधिको शासनको सुनिश्चितता एवं मानव अधिकारको संरक्षणमा सहयोग पुग्ने बताए। “त्यही भएर भन्ने गरिन्छ सूचना नै लोकतन्त्रको प्राण वायु हो”, राष्ट्रपति पौडेलले भने।
सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारबाहीप्रति नागरिकको परीक्षण र मूल्याङ्कन गराउँछ भन्दै उहाँले यसबाट नै सरकारप्रतिको विश्वास अभिवृद्धि हुने बताए। सूचनाको हकको प्रयोग बढ्दै जानु लोकतान्त्रिक अभ्यासको सुखद पक्ष भए पनि संविधान र कानुनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनिसकेको उनको भनाइ थियो। अझै पनि कैयाँै नेपाली जनता आफ्नो यो मौलिक हकबारे अनभिज्ञ रहेको उल्लेख गर्दै उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताए।