२२ बैशाख २०८२ , सोमबार

'रविविरुद्ध जाहेरी दिएको छैन, मलाई दुरुपयोग गरियो' - सुप्रिम सहकारीका मुख्य जाहेरीकर्ता पहराईको खुलासा

News
१६ बैशाख, काठमाण्डौँ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा रवि लामिछानेविरुद्ध मुख्य जाहेरीकर्ता बनाइएका नारायण पहराईले आफूलाई दुरुपयोग गरिएको बताएका छन्।

बुटवलस्थित सहकारीका बचतकर्ता पहराईले आफूले प्रहरीको आग्रहमा उजुरी दिएको, तर त्यो उजुरी रवि लामिछानेविरुद्ध लक्षित नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पहराईले भनेका छन्, "रविविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, यो प्रचारमा सत्यता छैन। करोड/करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन।"

उनले प्रहरीले आफ्नो सहमति बिना नै आफूलाई मुख्य उजुरीकर्ता बनाएको र त्यसैको आधारमा अदालतमा मुद्दा चलाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफू बचत फिर्ताको लागि मात्रै उजुरी दिएको र कुनै व्यक्तिलाई फसाउने उद्देश्य नरहेको बताएका छन्।

पहराईले निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने प्रयास भइरहेको भन्दै खबरदारी गर्न आग्रह गरेका छन्। उनले सरकारले पीडितलाई न्याय दिने काम नगरेको बरु पीडितलाई देखाएर राजनीति मात्र गरेको आरोप लगाएका छन्। उनले आफ्नो नाम दुरुपयोग गरेर कसैले स्वार्थ पूरा गर्न खोजेको भए आफू मुद्दा फिर्ता लिन पनि तयार रहेको बताएका छन्।