२२ बैशाख २०८२ , सोमबार

सुरौदी जलाधार क्षेत्रमा पुल नहुँदा जोखिम, खेतीयोग्य जमिन बगरमा परिणत

News
२२ बैशाख, काठमाण्डौँ ।

कास्की, स्याङ्जा र तनहुँका भू–भाग समेटेर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीयवासी पुल अभाव र वर्षामा हुने कटानका कारण समस्यामा परेका छन्।

खोला आसपासका उब्जाउ योग्य भू–भाग सिँचाइ अभावमा खेती गर्न समस्या छ भने खोलाको कटान नियन्त्रण हुन नसक्दा खेतीयोग्य जमिन वर्षेनी बगर बन्ने क्रम बढेको अगुवा कृषक रमेश आचार्यले जानकारी दिएका छन्। कटान नियन्त्रण नहुँदा वर्षामा रोपेको धान मङ्सिरमा भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हुने गरेको उनले बताए।

जलाधारको संरक्षण र उपयोग गर्नसकेमा स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू–भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न र माछापालन गर्न सकिने देखिन्छ। यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक रहेको उल्लेख गर्दै उनले पुल अभावमा वर्षातमा ज्यानको जोखिम मोलेर आवतजावत गर्नुुपर्ने बाध्यता रहेको बताए।

खोलाको सदुपयोग गर्न सकेमा खोला किनाराको उत्पादनले कास्की जिल्लालाई पूर्णरुपमा कृषिमा आत्मनिर्भर बनाउन सकिने स्थानीयवासी यामप्रसाद पौडेलले बताए। पछिल्ला समयमा अन्य पूर्वाधार विकासका कामले गति लिन थालेको बताउँदै उनले हालै सुरौदी जलाधार क्षेत्र अन्तर्गत कदमबोटेदेखि फेदीसम्म कालोपत्र गरिएको जानकारी दिए।

जलाधार क्षेत्रमा झोलुङ्गे पुल निर्माणसँगै खोलाको कटान नियन्त्रणमा राज्यले चासो दिएमा कृषि उत्पादन र जल पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण उपलब्धि हुने स्थानीयको दावी छ।