१ जेष्ठ २०८२ , बिहीबार

महोत्तरी अस्पतालमा दुई महिनादेखि औषधिको अभाव

News
१ जेष्ठ, काठमाण्डौँ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पतालमा दुई महिनादेखि औषधिको अभाव हुँदा उपचारमा समस्या हुँदै आएको छ। सरकारले ९८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराए पनि दुई महिनादेखि सिटामोलसहित साधारण औषधि समेत नहुँदा उपचारमा समस्या भएको हो।

दुई महिनादेखि अत्यावश्यक सिटामोलसहित निःशुल्क उपलब्ध हुने सबै औषधि अभाव रहेकाले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खाली हात पठाउनुपरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास साहले बताएका छन्। जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन्।

अस्पतालमा दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका जनाउँदै उनले अस्पतालबाट दिनुपर्ने निःशुल्क औषधि उपलब्ध गराउन नसक्दा बिरामीहरू निराश भएर फर्किनुका साथै उपचार प्रभावित बनेको बताएका छन्। डा. साहका अनुसार यहाँ रहेका छ वटा बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक २५ देखि ३० का दरले, मेडिसिन कक्षमा ४० देखि ५० आकस्मिक कक्षमा दैनिक ४० जनासम्म बिरामीहरू आउने गरेका छन्। उनले आकस्मिक कक्षमा बिरामी बढी हुँदा शय्या अभावसमेत हुने गरेको बताएका छन्। जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा दैनिक एक सय जनासम्म बिरामी आउने गरेको उनले जानकारी दिए।

मधेस प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग औषधि अभावका बारेमा जानकारी गराइएको अस्पतालका मेसु डा. साहले उल्लेख गरेका छन्। अहिले आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट किनेर व्यवस्थापन गरिरहेको बताउँदै यसलाई निरन्तरता दिन स्रोत अभाव हुने अवस्थामा पुगेको उनले जानकारी दिएका छन्।

पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण रुघा, खोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, जण्डिस र भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले जनाएको छ। पहिला दैनिक तीन सयको हाराहारीमा बिरामी आउने गरेकामा पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण दैनिक चार सयको हाराहारीमा विभिन्न सङ्क्रमणका बिरामकी आउने गरेका मेसु डा. साहले जानकारी दिएका छन्। चर्को घामका कारण जिल्लाबासीमा छालासम्बन्धी विभिन्न रोगको सङ्क्रमणसमेत देखा पर्न थालेको उनले बताएका छन्।