२९ बैशाख २०८२ , सोमबार

हतुवागढीमा आँखा शिविर सम्पन्न, ७३ जनाको शल्यक्रिया

News
२९ बैशाख, टक्सार (भोजपुर) ।

भोजपुरको हतुवागढी गाउँपालिका केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए।

शिविरमा मोतिविन्दु र मासु पलाएको समस्या भएका ७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ। विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। "आर्थिक अवस्था कमजोर भएर अन्यत्र उपचारमा जान नपाएका पालिकावासीलाई स्थानीयस्तरमै सञ्चालन हुने स्वास्थ्य कार्यक्रमले राहत पुर्‍याउँदै आएको छ," उनले भने।

ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका आँखा शिविर प्रभावकारी बनेको हतुवागढी आँखा उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए। "शिविरमा विज्ञ विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गरिने भएकाले शिविरहरू प्रभावकारी छन्। यसले आर्थिक अवस्थाका कारण सेवा पाउनबाट वञ्चित नागरिकलाई पनि सहजता दिएको छ," उनले भने।

गाउँघरमै निःशुल्क आँखाको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा पाएपछि स्थानीयमा उत्साह देखिएको छ। शल्यक्रियामार्फत आँखा देख्न पाएकोमा वृद्धवृद्धा खुसी भएका थिए।