प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना पूर्ण भएको छ। सबैभन्दा अन्तिममा संखुवासभा निर्वाचन क्षेत्रको मत परिणाम सोमबार राति सार्वजनिक गरिएको हो।
उक्त निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पालाई पराजित गर्दै विजय हासिल गर्नुभएको छ।
यसैबीच धनुषा–१ निर्वाचन क्षेत्र उम्मेदवारी खारेजीको विषयलाई लिएर विवादित बनेको छ। निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ। उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत पुगेका छन्।
अन्तिम मत परिणामअनुसार प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी १२५ सिट जित्दै स्पष्ट अग्रता कायम गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसले १८ सिट, नेकपा (एमाले) ले ९ सिट, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ सिट, श्रम संस्कृति पार्टीले ३ सिट तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेका छन्।
यस निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
देशभरका २७५ प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते मतदान सम्पन्न भएको थियो।
यसैबीच समानुपातिकतर्फ पनि मतगणना जारी रहेको छ। हालसम्म करिब एक करोड मत गणना भइसकेको छ। प्रारम्भिक परिणामअनुसार समानुपातिक प्रणालीतर्फ पनि रास्वपाले झण्डै आधा मत प्राप्त गर्ने संकेत देखिएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्।