आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानमार्फत नागरिकहरूले नीति, नेतृत्व र शासन व्यवस्थाको अभिव्यक्ति गर्दै समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने भएकाले यस महत्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभएको हो।
उहाँले मतदानलाई केवल प्रतिनिधि छनोट गर्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास भएको उल्लेख गर्नुभयो।
भट्टराईले भन्नुभयो,
“निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रलाई सुदृढ बनाउने महत्वपूर्ण अभ्यास हो। मतदान नागरिकको अधिकार मात्र नभई कर्तव्य पनि हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक अधिकारका साथै लोकतन्त्रप्रतिको जिम्मेवारी पनि हो।”
आयोगले फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा सुरक्षित रूपमा पुर्याइसकिएको जानकारी दिएको छ।

यसैबीच मतदान तयारीका क्रममा रामेछापमा निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको सवारी दुर्घटनामा केही सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ।
त्यस्तै सर्लाही र मुस्ताङ जिल्लामा मतदान अधिकृत तथा कञ्चनपुरमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीको निधन भएको घटनाप्रति पनि आयोगले गहिरो शोक व्यक्त गरेको जनाएको छ।