गृह मन्त्रालयले आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
मन्त्रालयले बुधबार बिहान देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भर्चुअल बैठक आयोजना गर्दै निर्वाचन सुरक्षालगायत व्यवस्थापकीय तयारीको समीक्षा गरेको हो। उक्त बैठकमा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने विषयमा विस्तृत छलफल गरिएको थियो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका उच्च अधिकारीहरूसहित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमार्फत जिल्लास्तरमा गरिएको तयारी, सुरक्षा व्यवस्थापन र आवश्यक समन्वयका विषयमा जानकारी आदान–प्रदान गरिएको थियो।
मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार करिब तीन घण्टा चलेको उक्त बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा व्यवस्थापकीय पक्षबारे केन्द्रित छलफल भएको थियो। सबै जिल्लाबाट प्राप्त विवरणअनुसार निर्वाचन सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको उनले बताइन्।
बैठकमा जिल्लास्तरमा भएका तयारी, वर्तमान अवस्था तथा केन्द्रबाट गर्नुपर्ने समन्वयका विषयमा पनि समीक्षा गरिएको थियो। साथै निर्वाचनको दिन अपनाउनुपर्ने सावधानी, सम्भावित सुरक्षा संवेदनशीलता र आवश्यक रणनीतिबारे समेत सहमति गरिएको छ।
गृहसचिव श्रेष्ठले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउँदै आवश्यक समन्वय र सतर्कता अपनाउन सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री सम्बन्धित मतदान केन्द्रमा सुरक्षित रूपमा पुर्याइसकेको जानकारी दिएका छन्।