यसअघि ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सांसदहरूले पदभार ग्रहण गर्नुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
शपथग्रहणसँगै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको कार्यकाल औपचारिक रूपमा सुरु भएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित पहिलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा (एमाले) २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो स्थानमा रहेका छन्।
त्यस्तै श्रम संस्कृति पार्टी सात सिटसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच सिटसहित छैटौँ दलका रूपमा प्रतिनिधिसभामा रहेका छन्।