१३ चैत्र २०८२ , शुक्रबार

प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ सदस्यीय मन्त्रिपरिषद्को शपथ

News
१३ चैत्र, काठमाण्डौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद्ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ। प्रधानमन्त्री शाहले शपथ लिएलगत्तै मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि शपथ लिएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन्।

मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल नियुक्त भएका छन्। त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल रहेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेललाई दिइएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्रालय निशा मेहताले सम्हाल्नुभएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा डा. विक्रम तिमल्सिना नियुक्त भएका छन्।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावलले सम्हाल्नुभएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी तथा श्रम, रोजगार मन्त्री दीपक साह नियुक्त भएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीका रूपमा सीता वादीले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ।