२ जेष्ठ २०८२ , शुक्रबार

अस्ट्रेलियामा बेरोजगारी दर स्थिर, ८९ हजारले रोजगारी पाए

News
१ जेष्ठ, काठमाण्डौँ ।

अस्ट्रेलियामा करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिल महिनामा बेरोजगारी दर स्थिर रहेको पाइएको छ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा लगातार दोस्रो महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलव एक प्रतिशत रहेको देखाएको छ।

एबिएसका अनुसार मार्च र अप्रिलको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या ८९ हजारले वृद्धि भएको छ भने सोही अवधिमा बेरोजगारहरूको सङ्ख्या छ हजारले बढेको छ। काम पाएका ८९ हजारमध्ये ६५ हजार महिला रहेका छन्। महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय काम पाउने खालको थियो, जुन ४२ हजारले बढेको थियो।

एबिएसको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा रोजगारीमा तीन लाख ९० हजार अर्थात् दुई दशमलव सात प्रतिशतले वृद्धि भएको छ। यो १५ वर्ष वा सोभन्दा बढी उमेरका दुई दशमलव एक प्रतिशतको जनसङ्ख्या वृद्धि दरभन्दा बढी हो।

रोजगार–जनसङ्ख्या अनुपात मार्चमा ६४ दशमलव एक प्रतिशतबाट बढेर अप्रिलमा ६४ दशमलव चार प्रतिशत पुगेको छ। यो जनवरीमा सेट गरिएको ६४ दशमलव पाँच प्रतिशतको रेकर्डभन्दा थोरै हो।

काम गर्ने उमेरको जनसङ्ख्याको अनुपात मापन गर्ने वा कार्यरत रहेका वा सक्रिय रूपमा काम खोजिरहेका सहभागिता दर मार्च र अप्रिलको बीचमा ६६ दशमलव आठ प्रतिशतबाट बढेर ६७ दशमलव एक प्रतिशत पुगेको छ।

एबिएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले ३५–४४ वर्ष उमेर समूहका लागि सहभागिता दर सबैभन्दा ठूलो वार्षिक वृद्धि भएको र यो एक दशमलव नौ प्रतिशत विन्दुले बढेर ८८ दशमलव तीन प्रतिशत पुगेको बताएका छन्।