२ जेष्ठ २०८२ , शुक्रबार

टेरामक्स प्रकरण: पूर्वमन्त्री मोहनबहादुर बस्नेतकाे सांसद पद निलम्बन

News
१ जेष्ठ, काठमाण्डौँ ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। मुद्दा दायर भएसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेत २०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामक्स प्रणाली खरिदमा अनियमितता गरेको आरोप लागेको थियो। अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गरेको छ।

अख्तियारका अनुसार बस्नेतले मन्त्री हुँदा पदीय अधिकार दुरुपयोग गरी प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी संस्थालाई हानीनोक्सानी पुर्‍याउने पृष्ठभूमि तयार पारेका थिए। टेरामक्स खरिद कार्य पूर्वतयारी नगरेको, लागत अनुमान र खरिद गुरुयोजना तयार नगरेको लगायत आरोप उनीमाथि लागेको छ।

बस्नेतसँगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, सदस्यहरू धनराज ज्ञवाली, टिकाप्रसाद उप्रेती, निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

भ्रष्टाचार निवारण ऐन- २०५८ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन- २०४८ अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ।