इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ गाजा सहरको पश्चिममा रहेको अल–रिमाल वरपरका क्षेत्र तत्काल खाली गर्न चेतावनी जारी गरेको छ। इजरायली आक्रमणअघि नै ती क्षेत्र खाली गर्न भनिएको हो।
आइडिएफका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रकाशित चेतावनीमा संलग्न नक्सा अनुसार तोकिएका स्थानहरूमा विद्यालय र अस्पताल परिसरहरू पनि समावेश छन्।
अद्राईले हमासले ‘आतङ्कवादी गतिविधिहरू’का लागि यी नागरिक क्षेत्रहरूको शोषण गरिरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा इजरायली सेनाले ठूलो बलका साथ आक्रमण गर्ने पुष्टि गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पराजित गर्ने प्रयासका साथ आगामी दिनमा इजरायली सेना ‘पूर्ण बलका साथ’ गाजामा प्रवेश गर्ने मङ्गलबार चेतावनी दिएपछि यो निकासी आदेश आएको हो।