संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफान दुजारिकले बताएअनुसार सुडानका विभिन्न क्षेत्रमा लडाइँको तीव्रताले सर्वसाधारणलाई आफ्नै घर छोड्न बाध्य बनाएको छ र उनीहरू शरणार्थी बन्दै सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।
पश्चिम कोर्डोफान राज्यमा सुरक्षा अवस्था गम्भीर बनेपछि यसै महिनामा खिवाइ र नुहुद शहरबाट करिब ४७ हजार मानिस विस्थापित भएका छन्। प्रवक्ताका अनुसार, तीमध्ये धेरै व्यक्ति पहिले नै आन्तरिक रूपमा विस्थापित भइसकेका थिए र अब दोस्रोपटक पुनः विस्थापित हुनुपरेको हो।
उत्तर दार्फुर राज्यमा पनि स्थिति चिन्ताजनक छ। केवल पछिल्लो सातामा अबु शोउक शिविर र एल फासर शहरबाट झण्डै एक हजार मानिस विस्थापित भएका छन्, जसले गर्दा यो महिनामा मात्र ती दुई स्थानबाट विस्थापित हुनेको सङ्ख्या ६ हजार पुगेको छ। हाल उत्तर दार्फुरमा करिब १७ लाखभन्दा बढी विस्थापित व्यक्तिहरू बसेका छन्।
भोजनको मूल्य आकाशिँदै गएकाले अवस्था झनै जटिल बन्दै गएको छ। प्रवक्ताका अनुसार, खार्तुम राज्यका केही क्षेत्रमा हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिएको देखिएको छ।
राजधानी खार्तुममा स्थिति झनै गम्भीर छ। पछिल्लो हप्तामा प्रायः सम्पूर्ण रुपमा विद्युत आपूर्ति बन्द भएको छ, जसको कारण ड्रोन आक्रमणले अत्यावश्यक विद्युत संरचनालाई क्षति र्पुयाएको भनिएको छ। यसले पानी र स्वास्थ्य सेवामा ठुलो बाधा र्पुयाएको छ। स्थानीय बासिन्दाहरू असुरक्षित पानीका स्रोतहरू प्रयोग गर्न बाध्य छन्, जसले जलजन्य रोगहरू फैलन सक्ने जोखिम बढाएको छ।
श्वेत नाइल राज्यमा पनि मानवीय आवश्यकता बढ्दो छ, किनभने छिमेकी दक्षिण सुडानबाट असुरक्षा र बेकाबु परिस्थितिबाट भागेर हजारौं शरणार्थी आइपुगेका छन्। पछिल्लो छ हप्तामा मात्रै २५ हजारभन्दा बढी दक्षिण सुडानी शरणार्थी प्रायः महिला र बालबालिका श्वेत नाइल क्षेत्रमा सुरक्षित बसोबासको खोजीमा प्रवेश गरेका छन्।
“यद्यपि मानवीय संस्थाहरूले सक्दो सहायता गरिरहेका छन्। हामी पुनः जोड दिन चाहन्छौं कि थप पहुँच र लचिलो वित्तीय स्रोतको तत्काल आवश्यकता छ,” प्रवक्ता दुजारिकले भने। उनले जानकारी दिएअनुसार, सन् २०२५ का लागि तय गरिएको चार अर्ब २० करोड अमेरिकी डलरको मानवीय सहायता योजनामध्ये हालसम्म केवल ५५ करोड २० लाख डलर मात्र प्राप्त भएको छ।