१० जेष्ठ २०८२ , शनिबार

जापानमा नेपालको राष्ट्रिय दिवस कार्यक्रम स्थगित, आर्थिक संकट प्रमुख कारण

News
१० जेष्ठ, काठमाण्डौँ ।

ओसाका एक्सपो २०२५ मा आयोजना हुने भनिएको नेपालको गणतन्त्र दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम आर्थिक अभावका कारण स्थगित भएको छ। जापान डेली नामक पत्रिकाले यो समाचार प्रकाशित गरेको छ। कार्यक्रम स्थगित हुनुमा आर्थिक संकटका कारण समयमै तयारी गर्न नसक्नु मुख्य कारण रहेको बताइएको छ।

यस घटनाले टोकियोस्थित नेपाली दूतावासको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएको छ। कार्यक्रमको तयारीमा जुटेका संघसंस्थाहरु दूतावासको लाचारीपनका कारण निराश बनेका छन्। जापान डेलीका अनुसार, जापानी आयोजकहरुले नेपालले वैकल्पिक उपाय अपनाएर भए पनि राष्ट्रिय महत्वको कार्यक्रम सम्पन्न गर्ने अपेक्षा गरेका छन्।

यसैबीच, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आजै स्वदेश फर्किँदै छिन्। उनी जापानमा रहेकै बेला यो घटना सार्वजनिक भएको हो। कार्यक्रम स्थगित भएको विषयमा दूतावासले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।