१० जेष्ठ २०८२ , शनिबार

भारतमा कोरोना संक्रमण बढ्दो, सीमामा कडाइ गर्न आग्रह

News
१० जेष्ठ, काठमाण्डौँ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरहरुमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ।

मुम्बई, दिल्ली, गुजरात लगायतका राज्यहरुमा नयाँ संक्रमितहरु भेटिएका छन्। महाराष्ट्र राज्यमा संक्रमणको दर उच्च देखिएको छ। नयाँ भेरियन्ट 'जेएन. १' को संक्रमण पनि देखिएकोले चिन्ता बढेको छ।

यसै सन्दर्भमा, स्वास्थ्य मन्त्रालयले सीमा नाकाहरुमा कडाइ गर्न र आवश्यक स्वास्थ्य जाँचको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले अस्पतालहरुलाई तयारी अवस्थामा रहन र आवश्यक औषधि तथा उपकरणको व्यवस्थापन गर्न पनि आग्रह गरेको छ।

"भारतमा संक्रमण बढ्नु हाम्रो लागि पनि चुनौती हो। सीमा नाकाहरुमा कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ," स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने। उनले आम नागरिकलाई पनि सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे।

विशेषगरी वृद्धवृद्धा र बालबालिकालाई संक्रमणको जोखिम बढी हुने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्। रुघाखोकी वा ज्वरो जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरिएको छ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि आवश्यक तयारी थालेको जनाएको छ।