१० जेष्ठ २०८२ , शनिबार

कांग्रेसभित्र त्यागी र निस्वार्थी नेता कार्यकर्ताको संख्या कम छ : शेरबहादुर देउवा

News
१० जेष्ठ, काठमाण्डौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र साँचो त्याग र निस्वार्थ भावनाले काम गर्ने नेता कार्यकर्ताको संख्या कम रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभामा बोल्दै देउवाले स्वर्गीय रेग्मी जस्ता त्यागी र निस्वार्थी नेताहरू पार्टीमा विरलै भेटिने गरेको उल्लेख गरे।

"रेग्मीजी अत्यन्तै त्यागी हुनुहुन्थ्यो, उहाँमा कुनै लोभ-लालच थिएन। यस्तो गुण भएका कांग्रेसीहरू एकदमै कम छन्," देउवाले भने, "पार्टीलाई मनैदेखि समर्पित भएर अगाडि बढाउने व्यक्तिहरू नगण्य छन् भन्दा पनि हुन्छ।"

देउवाले स्वर्गीय रेग्मीको योगदान र व्यक्तित्वलाई प्रकाश पार्न लेख रचना प्रकाशित गर्नुपर्नेमा जोड दिए। उनले रेग्मीको जीवनी र आदर्शलाई जनतासम्म पुर्‍याउन आवश्यक रहेको बताए।