६ जेष्ठ २०८२ , मंगलवार

बालेन शाह ‘सिस्टम’को नालीको किरो बने: महेश बस्नेत

News
६ जेष्ठ, काठमाण्डौँ ।

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को चर्को आलोचना गरेका छन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै बस्नेतले बालेन शाह ‘सिस्टमसँग लड्ने’ मेयर भन्न रुचाउने तर अहिले त्यही सिस्टमको ‘नालीको किरो’ बनेको आरोप लगाएका छन्।

बस्नेतले बालेनको कार्यकालमा महानगरपालिकामा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको भन्दै प्रश्न उठाएका छन्। उनले भनेका छन्, “के यस्तै ‘नयाँ प्रणाली’ को कल्पना गरेका थिए काठमाण्डौबासीले? तपाईंको पालामा यति ठूलो बेरुजु कसरी देखियो?”

बस्नेतले फ्रान्स फिल्म फेस्टिभलमा युट्युब ह्यान्डलर र आफ्ना साथीहरूलाई सरकारी खर्चमा उडाएको, सीप मेलाको नाममा एउटै कम्पनीलाई करोडौंको ठेक्का दिएको र डिजिटल बोर्डमा घोटाला गरेको आरोप लगाएका छन्।

उनले बालेनले आफ्ना प्रचारकहरूलाई सल्लाहकार बनाएको, मिसनमा हिँड्ने वडाध्यक्षहरूलाई गाडी र बजेट बाँडेको तथा व्यक्तिगत सुविधाका लागि कार्यालयमा लिफ्ट र ट्वाइलेट बनाएको आरोप लगाएका छन्।

बस्नेतले भनेका छन्, “तपाईंका विरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी, पुँजीगत खर्च सबैभन्दा कम, प्रचार र आसेपासामा अर्बौंको खर्च।” उनले बालेनले डोजर आतंक मच्चाएर हजारौंलाई घरबारविहीन बनाएको, आफ्ना मान्छे प्रयोग गरेर आईटी, प्रचार र टेण्डर बाँडफाँट गरेको र नक्सा पासमा कमिशन खेल खेलेको आरोप लगाएका छन्।

बस्नेतले बालेनले जनताको विश्वास गुमाउँदै गएको र उनको ‘सुशासनको मुखौटा’ च्यातिन थालेको दाबी गरेका छन्। “अब भाषणले होइन, प्रमाण र तथ्य पुर्ण जवाफले मात्र काम चल्छ,” बस्नेतले भनेका छन्, “तपाईंको पतनको यात्रा अब सुरु भएको छ।”