सहरका अग्ला भवनहरू र व्यस्त सडकहरूमा जब तिमी हिँड्दै गर्छौ, म भने हरियालीले ढाकिएको खेतको पाटोमा चप्पल लटपटाउँदै हिँड्छु। तिमी मोबाइलको स्क्रिनमा रमाउँछौ, म भने बिहानको सुनौलो घामले उज्यालिएको मकैको बोट हेरेर मुस्कुराउँछु। तिम्रो नास्ता रेडिमेड खाजामा हुन्छ, मेरो बिहान भने गोजीमा भुटेको मकै र भटमास हाल्दै, मुखभरि बुझो बनाएर गाउँको मनोरम दृश्य हेर्दै बित्छ।
सहरको चिट्चिटाहट र कोलाहल नै तिम्रो बिहानको अलाराम हो भने, चराचुरुङ्गीको मधुर आवाज र कुखुरीको बाङ्गो स्वर मेरो बिहानको घण्टी हो। तिमी प्लास्टिकका सामग्रीमा रमाउँछौ, म माटो र हिलोमा। तिमी पिज्जा, पाउरोटी, चाउचाउ स्वादिलो ठान्छौ, म भने गिलो रोटी, सेलरोटी र साँधेको मकैलाई स्वास्थ्यकर अनुभव गर्छु।
तिमी क्ले खेलाउँछौ, म गिलो माटो। तिमी फुटबललाई खेल मान्छौ, म भकुण्डोलाई। तिमी कंक्रिटको घरलाई सुरक्षित ठान्छौ, म माटोले लिपेको घरलाई महल सम्झन्छु। तिमी कृत्रिम हावामा बस्छौ, म रुखले फ्याल्ने सुगन्धित सासमा बाँच्छु।
तिमी मोबाइललाई साथी बनाउँछौ, मोबाइलमै गाउँको तस्बिर हेरेर ‘आहा!’ भन्छौ; म भने ती बुट्यान र जंगललाई प्रत्यक्ष साथी बनाउँछु र त्यहाँ घन्टौँ बिताउँछु। तिमी फेसनका महँगा लुगा लगाउँछौ, म फाटेका लुगा टालेर नयाँ डिजाइन बनाउँछु। मलाई आफ्नै बारीको ताजा सागसब्जी स्वागत गर्छ, तिमीलाई रसायनले भरिएका सब्जीहरूले।
तिम्रो सहरका बारीमा विषादी रोपिन्छन्, हाम्रो बारीमा कलकलाउँदा मुना। सहरमा कहिले बत्ती जान्छ भन्ने चिन्ता हुँदैन, गाउँमा कहिले आउला भनेर पर्खाइ हुन्छ। सहरमा सुविधा छ, गाउँमा सादगी।
तिमी सहरको मान्छे, म गाउँले। तिमीलाई लाग्न सक्छ, म गाउँले भएकाले म पछि परें। तर के साँच्चिकै आधुनिकताको नाममा हामीले सरलता र आत्मीयता गुमाउनु पर्छ? हाम्रो फरक त केवल बाहिरी देखावटको हो, आत्मा त एउटै हो—नेपालीपनले भरिएको, माटोको गन्धले सजिएको।