इरानको सर्वोच्च अदालतले तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहको निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।
सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुस्लिम धर्म र यसका प्रवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो।
सर्वोच्च अदालतले उक्त फैसला उल्टाउँदै मुद्दा अर्को अदालतमा पठाएको थियो, जहाँ उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो।
न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले फैसलाको पुष्टि गर्दै कार्यान्वयनको तयारी भइरहेको बताए।
गायकका वकिलले पुन: सुनुवाइ र क्षमादानका लागि दुई निवेदन दिएका छन्, जुन हाल विचाराधीन छन्। जहाँगीरका अनुसार उचित समयमा निर्णय सार्वजनिक गरिनेछ।
यसअघि, तातालुलाई 'भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको' र इस्लामिक गणतन्त्रविरुद्ध 'प्रोपोगान्डा' फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको थियो, जुन उनी हाल भोगिरहेका छन्।
स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको समर्थन रहेका तातालुले सन् २०१५ मा आणविक सम्झौताको समर्थनमा गीत सार्वजनिक गरेका थिए, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए।
पक्राउ र सुपुर्दगी हुनुअघि तातालु सन् २०१८ देखि इस्तानबुलमा बस्दै आएका थिए।