१३ बैशाख २०८३ , आईतवार

केपिलासगढीमा एसइईका उत्कृष्ट छात्रछात्रालाई एक लाख रुपैयाँ पुरस्कार

News
१० जेष्ठ, काठमाण्डौँ ।

खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी ‘जिपिए’ ल्याएर एसइई उत्तीर्ण गर्ने एक/एक जना छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरेको छ।

गत वर्षको एसइईमा गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयबाट सबैभन्दा बढी जिपिए ल्याएर उत्तीर्ण गर्ने छात्रतर्फ थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका शिवकुमार राई र छात्रातर्फ सोही विद्यालयकी क्याल्सी राईलाई नगद रु एक/एक लाख पुरस्कार प्रदान गरिएको हो।

शिवकुमारले ३.४५ जिपिए र क्याल्सीले ३.३९ जिपिए ल्याएका थिए। सिर्जनशील भरिया समाज र जि–फाउण्डेसनसँगको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको बृहत् कृषि, जडीबुटी तथा शैक्षिक मेला एवं साकेला सिली प्रदर्शनी कार्यक्रममा पुरस्कृत विद्यार्थीका अभिभावकलाई नगद पुरस्कारको ‘चेक’ हस्तान्तरण गरिएको छ।

विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अभिप्रेरित गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले बढी जिपिए ल्याएर एसइई उत्तीर्ण गर्ने छात्रछात्रालाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिइएको गाउँपालिका प्रमुख समिर राईले बताए। गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर आर्थिक वर्ष २०७९÷८० देखि सो पुरस्कार प्रदान गर्दै आएको छ।

गाउँपालिकाले गत वर्षबाट ‘बुहारी शिक्षा कार्यक्रम’ पनि कार्यान्वयन गरेको छ। पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन÷अध्यापन गराउने उद्देश्यले सो कार्यक्रम ल्याइएको हो।

गाउँपालिकाको नीतिअनुसार विवाहपछि पढ्न चाहने बुहारीहरुले कम्तीमा कक्षा–८ अनिवार्य उत्तीर्ण गरेको हुनुपर्नेछ। विवाह गरेर अध्ययन गर्न चाहने बुहारीलाई विद्यालयमा नाम लेख्न, फर्म भर्न, पुस्तक तथा स्टेसनरीका सामान र पोसाक उपलब्ध गराउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृह कार्य परीक्षण कार्यक्रमसमेत गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ। कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ। विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षेणिक क्रियाकलाप बारे गाउँपालिकालाई जानकारी हुने भएकाले सो कार्यक्रम लागू गरिएको गाउँपालिकाका उपप्रमुख गुरुराज राईले जानकारी दिए।