२९ बैशाख २०८२ , सोमबार

जगदम्बा हस्पिटालिटीको प्रष्टीकरण: हिलटन होटल बिक्रीमा छैन

News
२९ बैशाख, काठमाण्डौँ ।

जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले हालै केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा हिलटन होटल बिक्री भएको भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले आज प्रेस विज्ञप्ति जारी गर्दै हिलटन काठमाडौं बिक्री प्रक्रियामा नरहेको र यस विषयमा कतै छलफल नभएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडद्वारा संचालित अन्तर्राष्ट्रिय चेन होटल हिलटन काठमाण्डौं कुनै पनि विक्री प्रक्रियामा नगएको र यस विषयमा कहिं कतै छलफल समेत नभएको जानकारी गराइएको छ। कम्पनीले राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडेर हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुऱ्याउने कार्य भएकोमा गम्भीर आपत्ति जनाएको छ। साथै, यस्ता भ्रामक समाचार फैलाउनेहरुलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

जगदम्बा हस्पिटालिटी ग्रुपले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आधिकारिक स्रोतबाट प्रमाणिकरण नभएका र अपुष्ट समाचार प्रकाशन र प्रशारण नगर्न आग्रह गरेको छ। कम्पनीले हिलटन होटल आफ्ना अतिथि, साझेदार र सम्पूर्ण हितग्राहीहरुलाई दीर्घकालीन सेवा र उच्चस्तरीय आतिथ्यता प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीले सत्य, तथ्य र विश्वसनीय सूचना मात्र प्रवाह गरिदिन सबैलाई पुनः अपिल गरेको छ। यो विज्ञप्ति जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड, ललितपुर हाउस, गैह्रीधारा, काठमाडौंबाट जारी गरिएको हो।