भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण सीमा क्षेत्रका बासिन्दाहरूले आफ्ना परिवारलाई सुरक्षित स्थानमा सारेका छन्।
चेनाब नदीको किनारमा रहेको सेन्थको कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दा द्वन्द्वको डरले स्थानान्तरण भएका छन्। गाउँ प्रमुख सुखदेव कुमारले दीर्घकालीन योजना बनाउन सक्ने अवस्था नभएको बताए। कठिन अवस्थाका कारण गाउँलेले आधारभूत घर बनाउनेभन्दा बढी लगानी नगर्ने गरेको उनले उल्लेख गरे।
भारतले पाकिस्तानलाई कस्मिरमा सर्वसाधारणमाथिको आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ। अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा संलग्न भएको आरोपमा भारतीय प्रहरीले तीन जनाको खोजी गरिरहेको छ। यद्यपि, पाकिस्तानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
भारतीय सेनाले शनिबार आफ्ना सैनिकहरूले पाकिस्तानी सैनिकहरूसँग कश्मीरसँगको सीमामा गोली चलाएको बताएको छ। सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानबीचको विवादित क्षेत्र बनेको छ।
गाँउ प्रमुख कुमारका अनुसार अधिकांश परिवारहरूले सुरक्षित आवासका लागि अर्को ठाउँमा घर बनाएका छन् भने शिविरमा करिब एक तिहाइ मात्र मानिसहरू रहेका छन्। सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको थियो।
पहलगाममा आक्रमण भएदेखि बालबालिकाहरू डरैडरमा बाँचिरहेका छन्। वार्ताका माध्यमबाट आफ्ना मतभेद समाधान गर्न नयाँ दिल्ली र इस्लामाबादमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ। संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ, छिमेकी चीनले ‘संयम’ रहन आग्रह गरेको छ, र युरोपेली सङ्घले शुक्रबार स्थिति ‘चिन्ताजनक’ भएको चेतावनी दिएको छ।