९ असार २०८२ , सोमबार

दिन नसकेको पत्र

News
आदेश न्यौपाने-

थाहा छ...........
 

मलाई आज पहिले झै मीठा मीठा कुराहरू गरेर तिमीलाई हँसाउनु छैन अनि सम्झाउने मन पनि छैन । धेरै दिनदेखि यो मनमा अड्किएर बसेका कुराहरू लेख्दा आकांक्षा मलाई तिमीले जुन उपनाम दियौ भने पनि म हाँसी हाँसी अर्पण गर्न तयार छु । कुनै सानो बन्द अनि कालो यो अन्धरो कोठमा राखेर तिम्रा यादहरुले मलाई धेरै पटक यसरी हिर्काए मैले दुख्यो सम्म भन्न पनि पाएन । मन जली रह्यो तर मनको आगो निभाउने दमकल क्षितिज पारीको कुनै अन्जान सहरमा थियो ।

आज म तिमीबिनाको कुनै अन्जान सहरमा एक्लो भएको छु । हजारौँ ताराहरूको बीचमा एक्लो रहेको जून जस्तै एक्लै भएको छु ! म, तिम्रो म्यासेजबिना एक्लो छु ! तिमीले गाउने गीतहरू कानमा अझैँ पनि उस्तै गुञ्जिदै छन् । तिम्रो स्वर नसुनेको वर्षौँ वर्षौ हुन लाग्यो । तिमीले कहिलै बोलाएनौ मलाई बोलाउने आँट कहिलै आएन । म तिम्रा यादहरूमा जलेर खरानी बन्न चाहान्थेँ तर तिम्रा यादहरू फलामभन्दा सार्हो रहेछन् । सकेनन् तिम्रा यादहरुले मलाई जलाउन, सकेनन् खरानी बनाउन ।

तिमीलाई म निष्ठुरी भन्छु, तिम्रो यादमा म रुँदा पनि तिमी खुसी भयौ । मेरो मन जल्दा पनि तिमी खुसी भयौ । म निदाउन नसक्दा पनि तिमी निदायौ । कुनै एउटा फोटो किन पठाएनौ जुन फोटोमा तिमी रिसाएकी हुन्थ्यौ । मेरो ल्यापटपमा भएको हरेक फोटोहरूमा तिमी सधैं मुस्कुराई रह्यौ । तिमी किन यति निष्ठुरी भयौ भन त ?

गल्ती तिम्रो हो या मेरो हो थाहा छैन तर तिमी गएपछि म हरेक दिन रोइरहेको छु। तिम्रो सम्झनामा दिनहुँ शव्दहरू कोरिरहन्छु। शब्द फिक्का छन् मेरा आँसुका अघि। त्यसपछि म ती फिक्का शब्दहरू आँसुको भेलमा डुबाइदिन्छु । के को अभाव हो कुन्नि । हरेक पल तिम्रै सम्झनामा मात्र आउँछ। दोष छोडेर जाने तिमिलाई मात्र दिन दिन छ । सम्झना मेटाइदिन धान्न मसँग भएको ल्यापटपमा तिम्रा तस्बिर कैदी बनेर बसेका छन् । अनि म एक जेलर । हरेक पल स्याहार गरिरहन्छु । केही समयको सजाय पाएकी तिमीले छाडेर गयौ तर जन्मकैद नै पाएका यी तस्बिरले मलाई छाडेर जाने आँट कहिल्यै गर्ने छैनन् । आफैले आफैबाट कहिल्यै टाढा नराख्ने भनी वाचा गरेका यी तस्बिरलाई हटाउन सक्दैन मेरो समिपबाट । जेलर भए पनि यिनका लागि त म रक्षक हो नि माया ।

तिमीलाई भेट्न मन छ त म भन्दिन तर हेर्ने भने धेरै मन छ । यति धेरै कि जसलाई मापन गर्ने यन्त्र नै बनेको छैन आजसम्म । भेटेर हेर्ने चाहले यदि धेरै अर्यालको छ‌ नि,लाग्छ म बसेको भुईं‌ नै मैले‌ कल्पना गरेको विमान होस् । टाढैबाट हेरिरहुँ तिमीलाई । तिमीले थाहै नपाउने गरि। याद छ पहिलो पटक भेट्दा मैंले तिमीलाई जानी जानी नभेटेको स्वाग पारेको थिएँ नि‌ । नहराएकोलाई खो खोज्दा मजा आउने, हराएकी तिमीलाई खोज्छ रमाइलो छ त कसरी भनुँ?

मलाई फेरि कलेज जान मन छ । सायद अब कलेज पुग्दा तिमीलाई देख्न त नसकुला तर कलेज पुग्दा तिमीलाई नसम्झी बस्न भने सक्दिन । हो, मलाई आज पनि फेरि त्यही कलेजको बिल्डिङमा बस्न मन छ‌ अनि तिमीलाई झ्यालबाट लुकेर हेर्न मन छ । यसरी नै तिम्रो फोटाहरू हेर्न मन छ, तिम्रो भिडिओहरू हेर्न मन छ, तिमीलाई स्पर्श गर्न मन छ ।

ठीक छ, तिमीलाई बोल्न मन छैन भने पनि केही छैन । पहिले झै रिसाएर ए आदेश भनेर फेरि एकचोटी बोलाई देऊ न? म त्यही पल पर्खिरहेछु जसरी सुख्खा मरुभूमिले‌ पानी खोजेको हुन्छ ।

मलाई अहिले कलेज जान मन छैन । तिमी बस्ने त्यो होस्टेल हेर्न मन छैन । मलाई के मन छ थाहा छ? तिमीलाई ताराले जूनलाई हेरेको जसरी हेर्न मन छ । अनि मलाई तिमीसँग मिसाएर मलाई तिमी बनाउन मन छ । मलाई पुरानी तिमी फर्काउन मन छ ।

किन तिमीले पहिले आफ्नै झैँ नजिक भयौ, बोल्यौ हात समायौ, बरु तिमीले त्यस्तो नगरेको भए यस्तो त हुँदैन थियो होला नि? बरु तिमीले मसँग कुरा मात्रै गरेको भए हुन्थ्यो होला नि? किन तिमीले घण्टौं सम्म कुरा गऱ्यौ? बरु तिमीले मेरा लागि गीत नगाएको भए हुन्थ्यो नि? बरु तिमीले कुनै साइनो लगाएको भए कतै हाम्रो नाता त अजम्बरी हुन्थ्यो कि ! आकांक्षा तिमी एकले मलाई अनेक बनायौं ।

थाहा छ???
मैले तिम्रो मेसेज,कलको आउँछ कि भनेर झिनो आशा लिएर वर्षौ, वर्षौसम्म पनि लामो प्रतीक्षा गरी रहेँ । सासुले बुहारीको प्रतीक्षा गरे जस्तै अनि चौतारीले बटुवाहरूको प्रतीक्षा गरे जस्तै, हो कुनै दिन मैले पनि तिम्रो लामो प्रतीक्षा गरेको थिएँ ।

दिनहुँ जसो फेसबुकका भित्तामा देखेको ती तिम्रा तस्बिरहरूमा कुनै समय रमाउने मन आज तिनैसँग जुहारी खेल्दै छु । कसैको सामियाप्तले केही समय त खुसी दिने रहेछ तर मन भने पुरै भनौ या भरपूर खुसी भने नहुँदो रहेछ ।

अब मेरो अन्तिम इच्छा एउटै छ तिमीलाई भेटेर भन्न नपाएको कुरा यो लेखिएको पत्र दिने । उही तिम्रो आदेश । पत्र लेखेको पनि वर्षौ भइसकेको छ तर मैले अझै पनि उनीसँग न मेसेज , कल न त यो पत्र नै दिन सकेको छु ।