बागलुङको निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा उल्लेखनीय विकास प्रगति हासिल गरेको छ। विनियोजित १७१ पूर्वाधार विकास आयोजनामध्ये हालसम्म १२४ आयोजना सम्झौता भई कार्यान्वयनमा पुगेका छन्।
गाउँपालिकाका सूचना अधिकारी दिलाराम बाँठा मगरका अनुसार अहिलेसम्म ४७ आयोजना सम्पन्न भइसकेका छन्। प्रतिनिधिसभा निर्वाचनका कारण केही समय काममा ढिलाइ भए पनि अधिकांश योजना अहिले तीव्र गतिमा अघि बढिरहेका छन्।
प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले माघ–फागुनमा सुस्त देखिएको विकास निर्माण चैतदेखि तीव्र भएको जानकारी दिनुभयो। उहाँका अनुसार सीमित स्रोतसाधनका बाबजुद पनि गाउँपालिकाले अधिकतम उपलब्धि हासिल गरेको छ।
हाल गाउँपालिकामा पाँचवटा ठूला सडक स्तरोन्नति आयोजना ठेक्कामार्फत सञ्चालन भइरहेका छन्। साथै प्रशासनिक भवन अभावका कारण एक तला थप्ने तयारी गरिएको छ। सेवा प्रवाह सुधार र बेरुजु नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ।
गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीचको समन्वयका कारण बेरुजु घट्दै गएको जनाइएको छ। सात वडामध्ये केही वडामा चारदेखि १५ वटासम्म आयोजना कार्यान्वयनमा छन्। वडा नं. ६ मा दुई वटा आयोजना सम्पन्न भएका छन् भने वडा नं. ७ मा १५ वटा आयोजना अघि बढिरहेका छन्।
अधिकांश आयोजना स्थानीय आवश्यकता अनुसार तय गरिएकाले कार्यान्वयन प्रभावकारी भएको गाउँपालिकाको भनाइ छ। समयमै योजना सम्झौता, अनुगमन र भुक्तानी प्रक्रियाले पनि बेरुजु घटाउन मद्दत पुगेको छ।
गाउँपालिकाले गत आर्थिक वर्षमा करिब सात करोड रुपैयाँ बेरुजु घटाएको थियो भने चालु वर्षमा हालसम्म एक करोड १० लाख रुपैयाँ बेरुजु घटाइसकेको छ।
विकास कार्यलाई पारदर्शी बनाउन उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। आवश्यक कागजात पूरा गर्ने र लागतअनुसार काम गर्ने अभ्यासले पनि बेरुजु नियन्त्रणमा सहयोग पुर्याएको छ।
यसैबीच गाउँपालिकाले प्रशासनिक भवन विस्तारका लागि ५० लाख रुपैयाँ र रिग ताल संरक्षणका लागि पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।